चैत २९, २०८१ शुक्रबार

चितवन, २९ चैतः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको छ । बिहीबार साँझ भएको भेटमा उहाँहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गर्नुभएको हो ।

    तत्कालीन, दीर्घकालीन र चालु योजनासम्बन्धी २३ बुँदा मागसहित प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र एमाले जिल्ला अध्यक्ष कमज पाठकले हस्तान्तरण गर्नुभयो । उहाँहरूले नारायणी, राप्ती, रिउ तटबन्ध, भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन सेवा सञ्चालन, भरतपुर र कालिकामा चक्रपथ निर्माणलाई निरन्तरता दिन माग गर्नुभएको छ ।

    चितवन जिल्लास्तरीय चक्रपथ, भरतपुर–भण्डारा उत्तराखण्ड सडक, ठोरी–माडी, ध्रुवघाट–घोसरघाट–नारायणी नदी हुँदै नवलपरासी जाने हुलाकी सडक, भण्डारा मलेखु चेपाङ मार्गलगायतमा बजेट विनियोजन गरी अघि बढाउन आग्रह गरिएको कांग्रेस जिल्ला सभापति खनालले बताउनुभयो । 
 
    उहाँका अनुसार माडी पर्यटन विकास बोर्ड गठन गरी पर्यटकीय क्षेत्रहरूको विकास, देवघाटधामलाई व्यवस्थित गर्ने, कृषिजन्य वस्तुको भण्डारण र बजारीकरण, भोर्ले–दाहाखानी, उपरदाङगढी सडक, शक्तिखोर औद्योगिक क्षेत्रलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्न माग गरिएको छ ।
 
    माडी जाने निकुञ्जभित्रको सडक पक्की गर्न पनि दलहरूले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । आठ बुँदे दीर्घकालीन योजना प्रस्तुत गर्दै सप्तगण्डकी बहुउद्देश्यीय परियोजना कार्यान्वयन, त्रिशूली–हुग्दी–शक्तिखोर बहुउद्देश्यीय परियोजना, नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग, केरुङ–ठोरी लोकमार्ग, भरतपुर अस्पताललाई मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउन माग गरिएको एमालेका जिल्ला अध्यक्ष पाठकले उल्लेख गर्नुभयो ।
 
    माडीको वसन्तपुर बजजारबाट सीधा भारतसँग व्यापारिक नाका कायम गर्न पनि दलहरूले माग गरेका छन् । चितवनमा बहुप्राविधिक शिक्षालय र नवप्रवर्तनका लागि आविश्वास केन्द्रको माग दलहरूले राखेका छन् ।
 
    भेटमा सहभागी कांग्रेस जिल्ला सभापति खनालले प्रधानमन्त्री ओली आफूहरूले पेस गरेका मागमा सकारात्मक हुनुभएको बताउनुभयो । समयमा माग लिएर आएको भन्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाउनुभएको खनालले जानकारी दिनुभयो । भेटका क्रममा चितवनबाट प्रतिनिधित्व गर्ने एमाले र कांग्रेसका जनप्रतिनिधि, केन्द्रीय नेतालगायत सहभागी हुनुहुन्थ्यो ।