चैत २९, २०८१ शुक्रबार

काठमाडाैँ, २९ चैतः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी वनस्पति विभागले वनस्पतिको पहिचान, अभिलेखीकरण, संरक्षण तथा अध्ययन, अनुसन्धानका क्षेत्रमा प्रशंसनीय काम गर्दै आएको बताउनुभएको छ ।

    वनस्पति विभागले ६५औँ वार्षिकोत्सव तथा २६औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विभागले वनस्पति संरक्षण र प्रवर्द्धनमा सरकारलाई सहयोग पुर्‍याइरहेको भन्दै विभागको  योगदानको प्रशंसा गर्नुभयो । उहाँले अगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    उहाँले नेपालमा विभिन्न वनस्पतिका प्रजातिहरूको विविधिताको धनी देश रहेको बताउनुभयो । मन्त्री ठकुरीले भन्नुभयो, “नेपालको हावा, प्राकृतिक स्रोत, भूबनोटको छुट्टै पहिचान छ । अनेक जातिको फूल तथा वनस्पतिको अध्ययनमा विभागले महत्त्वपूर्ण योेगदान दिँदै आएको छ । आगामी दिनमा खोज र अनुसन्धानमार्फत अन्तरराष्ट्रियस्तरमा थप चिनाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्छु ।”

    वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालमा जडीबुटीले प्रशस्त बजार पाउने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वनस्पतिको औषधीय गुणको अन्वेषण, असल र उपयुक्त प्रविधिबाट जडीबुटी र सुगन्धित तेलजन्य बिरुवाहरूको खेती विस्तार, वनस्पतिजन्य पदार्थमा आधारित उद्योगको स्थापनामा सहयोग गर्ने उद्देश्यले आगामी दिनमा कार्यक्रम गर्नुपर्छ ।”

    मन्त्रालयका सचिव डा दीपककुमार खरालले वातावरणीय सङ्कटका कारण प्राणी तथा वनस्पति जोखिममा रहेका बताउनुभयो । उहाँले विभागले अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा परिमार्जन गरी नीति तथा कार्यक्रममा ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    ‘वनस्पतिको सम्भारः सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ विभागले आज विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।

    दिवसका अवसरमा ‘राष्ट्रिय वनस्पति पुरस्कार २०८१’ बाट प्रा डा मोहन शिवाकोटीलाई पुरस्कृत गरिएको छ । नेपालमा वानस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो । 

    साथै दीर्घसेवा सम्मानबाट सात जना र कदरपत्रबाट ११ जना सम्मानित हुनुभएको छ । विसं २०१६ देखि वनस्पति विभागले वानस्पतिक सम्पदाको संरक्षण, संवर्द्धन एवं सदुपयोगको क्षेत्रमा अनवरत अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।