चैत २९, २०८१ शुक्रबार

रामपुर (पाल्पा), २९ चैत: यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ । 

रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो । नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो । 

भण्डारण कक्ष भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो । हाल नगरपालिका आफँैले शीतभण्डारको व्यवस्थापन गरिरहेको छ ।

यहाँको शीतभण्डारमा छ सय ८२ किसान तथा कृषि सहकारी र समूहको गरेर दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको नगरपालिकाको कृषिशाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । गत वर्ष एक सय ७० मेट्रिकटन आलु भण्डारण गरिएको उहाँले बताउनुभयो ।  

यहाँ स्थानीय नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलुसमेत भण्डारण गरिएका छन् । नगरप्रमुख रमणबहादुर थापाले शीतभण्डारको सुविधा भएपछि किसानले उत्पादनमा जोड दिएको  बताउनुभयो ।  यस क्षेत्रमा आलु बढी उत्पादन बढी हुने भएकाले नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको र त्यसबाट किसान निकै लाभान्वित भएका उहाँको भनाइ छ । 

 यसवर्ष रामपुर क्षेत्रमा प्रतिरोपनी सातदेखि आठ क्विन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु छ भण्डारण शुल्क लिएर आलु राखिएको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारमार्फत रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेर विसं २०७८ देखि सञ्चालनमा ल्याइएको हो । पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही समस्या भए पनि पुनः मर्मतपश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएको कृषि शाखा प्रमुख गैरेले बताउनुभयो । 

नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रममा तथा उपकरणको निरीक्षणका लागि एकजना दैनिक हेरालु राखेको छ । भण्डार केन्द्रमा फरक–फरक क्षमताका पाँच कोठा छन् । हाल पाँचवटै कोठा आलुले भरिएका छन् । सञ्चालनका लागि मासिक रु ५० देखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने गरेको नगरपालिकाले जनाएको छ । 

शीतभण्डार सञ्चालन हुनुअघि यहाँका किसानले भैरहवा, गल्याङ, पोखरालगात स्थानमा आलु भण्डारण गर्दै आएका थिए ।