बैशाख १, २०८२ सोमबार

कञ्चनपुर, १ वैशाखः ‘बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यही वैशाख २ गतेदेखि सुरु हुने विद्यालय भर्ना अभियानका लागि कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलाई खटाउने भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकको निर्णबाट वडागत रुपमा अभियानलाई सफल बनाउनका लागि सामुदायिक विद्यालयमा भर्नाका लागि जनप्रतिनिधि खटाइन लागेको हो । शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत अनिता ठगुन्नाका अनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्मलाई अभियानका लागि वडागत रुपमा जिम्मेवारीसहित खटाइएको छ ।

 नगरपालिका क्षेत्रमा रहेका ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभिायनका लागि खटिने जनप्रतिनिधि र कर्मचारीको नामावली तयार गरी जिम्मेवारी तोकिएको छ । नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानालाई पनि जिम्मेवारी दिइएको छ । 

“सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउनका लागि विद्यालय भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीलाई खटाउने कार्यपालिकाले निर्णय गरेको छ” नगर प्रमुख ओझाले भन्नुभयो, “सामुदायिक विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउनका लागि यस अभियानमार्फत मद्दत पुग्छ ।”
     वडा वडामा घर घरमा पुगेर अभियानबारे जानकारी दिने कार्यसँगै सामुदायिक विद्यालयले प्रदान गर्दै आएको सेवा सुविधाबारे जानकारी दिइने उहाँको भनाइ छ । विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुहँुदै उहाँले विषयगत शिक्षकको व्यवस्था गर्ने कार्यँंगै विद्यालयको भौतिक पूर्वाधार विकास, फर्निचरको व्यवस्थापनको कार्य गरिएको बताउनुभयो ।

 विद्यालयको क्षमता अभिवृद्धि गर्नका लागि शिक्षा विद्हरुसँग छलफल गरी कमिकमजोरी सुधार गर्दै लैजाने कार्य भइरहेको उहाँको भनाइ थियो । अभियानसँगै नगरपालिका अन्तर्गतका जनप्रतिनिधिसहित सार्वजनिक पदमा रहेका व्यक्तिले अनिवार्य रुपमा आ–आफना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने नियम लागू गरिएको छ । 

नगरपालिका अन्तर्गतका जनप्रतिनिधि, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कार्यरत कर्मचारीका सन्तती(छोराछोरी, नाति, नातिनीलगायत एकाघरमा बस्ने बालबालिकालाई सामुदायिक विद्यालयमा पढने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

 आउँदो शैक्षिक सत्र २०८२ देखि जुनसुकै स्थानमा भए पनि सार्वजनिक पदम भएका व्यक्तिले आ–आफना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुनिर्णय गरिएको नगर प्रमुख ओझाले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समिति, प्रद्यानाअध्यापक लगायतको बैठक राखेर निर्णय कार्यान्वयनका लागि निर्देशन दिने कार्य गरिएको उहाँको भनाइ छ ।    “सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तर सुधार गर्ने उद्देश्य राखेका छौँ” उहाँले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउँदा अन्यको पनि आकर्षण बढ्छ ।”
उहाँका अनुसार नगरपालिकाले संस्थागत विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक र अन्य संलग्न व्यक्तिले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय र व्यवस्थापकीय जिम्मेवारीमा रहन नपाउने व्यवस्था गरेको छ ।