गण्डकी, १ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीयता कार्यान्वयन र समग्र विकासमा देखिएका चुनौती सम्बोधन गर्न नयाँ वर्षले थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“सबैले एक अर्काप्रति प्रेम, सहकार्य र सद्भावना बढाउने तथा उज्ज्वल भविष्यको निर्माण गर्ने सङ्कल्प गर्दै संवत् २०८१ मा हासिल गरेका उपलब्धिहरूलाई दिगो बनाउन र लक्ष्य प्राप्तिका लागि निरन्तर क्रियाशिल रहनुपर्छ”, मुख्यमन्त्री पाण्डेको सन्देशमा भनिएको छ ।
प्रदेश सरकार सुशासन प्रवर्द्धन गर्दै दिगो एवं समावेशी विकासमार्फत जनताका आकांक्षा पूरा गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न सम्पूर्ण प्रदेशवासीको साथ सहयोगको अपेक्षा गर्नुभएको छ ।
गण्डकी प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकास र सेवा प्रवाहको क्षेत्रमा देखिएको प्रगति समग्र गण्डकी प्रदेशवासी, सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीको संयुक्त प्रयासको परिणाम भएको भन्दै उहाँले यो समन्वय, सहकार्य र साझेदारीलाई जीवन्त राख्दै गण्डकी प्रदेशलाई आत्मर्निभर, समुन्नत र जनउत्तरदायी बनाउने साझा सङ्कल्पमा प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
आशा, अपेक्षा र उमङ्गको उत्सवका रूपमा लिइने नयाँ वर्षले सबैलाई सत्कर्ममा लाग्न र समाज विकासमा सकारात्मक भएर सोच्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।