काठमाडौँ, १२ वैशाखः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गर्नुभएको छ ।
टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) को वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा सिइओ जोशीले काठमाडौँमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तरराष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गर्नुभएको पर्यटन बार्डले जनाएको छ ।
सम्मेलनका क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौतासमेत सम्पन्न भएको बोर्डले जनाएको छ । जसअन्तर्गत ‘टुरिजम ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिनेछ ।
त्यसैगरी सिइओ जोशीले विश्व पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौँमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तरराष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
उक्त मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाको प्रवद्र्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ । “हिमालयन ट्राभल मार्ट केबल व्यापारिक भेला होइन, यो नेपालले दिनसक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ”, बोर्डको सिइओ जोशीले भन्नुभयो ।
‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सिइओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलका बारेमा जानकारी गराउनुभएको हो । उहाँले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गर्नुभयो ।
बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल’ का प्रमुख कार्यकारी अधिकृत डा ¥याण्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सिइओ जोशीले जानकारी गराउनुभएको छ ।
सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्याङ्क वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्हरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ । सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।