सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन् । सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनका साथै गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको छ ।
बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठो मसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन् ।
पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल हुनुभएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको हो ।
दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।
तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराका समयमा सामूहिक रूपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोना भाइरसका कारण सामूहिक रूपमा जमघट नहुँदा गौराको रौनक नै छैन ।