बैशाख १५, २०८२ सोमबार

म्याग्दी (बेनी), १५ वैशाख : रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित जिल्लाकै पुरानो विद्यालय मुक्तिधाम माध्यमिक विद्यालयले ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती मनाउँदै छ । विसं २००६ मा राहुघाट मिडिल स्कुलको नाममा स्थापना भएको उक्त विद्यालयमा २०२२ सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको हो ।

स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित हीरक जयन्ती मनाउन थालेको छ । तत्कालीन समयमा एकतले कच्ची भवनबाट पठनपाठन सुरु भएको सो विद्यालयको तह वृद्धि र विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि २०४० सालमा नागबारीमा स्थानान्तरण गरिएको थियो । 

विद्यालयका पूर्वविद्यार्थी समेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले जिल्लाकै पुरानो विद्यालयले शैक्षिक क्षेत्रमा अतुलनिय योगदान दिएको बताउनुभयो । “तत्कालीन समयमा विद्यालय स्थापना गर्नु अत्यन्तै उदाहरणीय कार्य थियो, दुर्गम र राज्यको पहुँचबाट धेरै टाढाको बस्तीमा स्थापना भएको विद्यालयले शिक्षाको ज्योति बाल्दै समाज परिवर्तनमा खेलेको भूमिका उल्लेखनिय छ”, उहाँले भन्नुभयो । 

हीरक जयन्तीको अवसरमा विद्यालयले स्थापनादेखि हालसम्मको गतिविधि र उपलब्धि  समेटिएको ‘मुक्तिदर्पण’ स्मारिका प्रकाशन गरेको छ । सो अवसरमा विद्यालयका पूर्वशिक्षक, पूर्वप्रअ, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं विद्यालयमा अध्ययन गरी राष्ट्रको विभिन्न तहमा रहेर योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । 

यही वैशाख १८ गतेसम्म आयोजना गरिने हीरक जयन्तीमा जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको प्रधानाध्यापक अमर केसीले जानकारी दिनुभयो । 

कक्षा १२ सम्म अध्यापन हुने मुक्तिधाम माविमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत  छन् । विद्यालयले २०७६ सालदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षातर्फ बाली विज्ञान विषयमा पठनपाठन गराउँदै आएको छ । पुरानो र जीर्ण भवन जीर्णोद्धार गरी सञ्चालित सो विद्यालयले विद्यार्थीको सहजताका लागि छात्राबास भवन निर्माण गरी आवासीय सुविधासहितको विद्यालय बनाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।