बैशाख १६, २०८२ मंगलबार

जुम्ला, १६ वैशाखः जिल्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन गर्नका लागि भगिनी सम्बन्ध कायम गरेका छन् । 

    दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । 

    एकआपस समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । 

    गाउँपालिकाका अध्यक्ष चौलागार्इं र चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो ।  

    शिक्षा, स्वास्थ्य खानेपानी, जलविद्युत्, यातायात पर्यटनलगायत क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने भगिनी सम्बन्धको उद्देश्य रहेको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताउनुभयो । 

    दुवै पालिकाको संस्थागत सवलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास तथा सफल अनुभवको आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, प्रकृति र पर्यावरणको संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने भगिनी सम्बन्धका क्रममा भएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    मानवीय पालिका बनाउने, आपसीहितका लागि अध्ययन तथा अवलोकन गर्ने, फोहरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सीमा विवाद क्षेत्र निर्धारण, तिला नदीको संरक्षण र सवारी साधनको प्रयोग सहलगानीमा गर्ने सहमतिपत्रमा रहेको छ ।