बैशाख १६, २०८२ मंगलबार

काठमाडौँ, १६ वैशाखः शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित विभिन्न राजनीतिक पार्टीका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाएको छ । 

    एनसिईका प्रतिनिधिमण्डलले आज सिंहदरबारमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) का प्रमुख सचेतक श्याम घिमिरे, हितराज पाण्डे र महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएको हो । 

    नेपालको संविधान २०७२ को धारा ३१ (२) ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनी सुनिश्चित गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको एनसिई नेपालले जनाएको छ ।
      
    ज्ञापनपत्रमा भनिएको छ, “संविधानको अनुसूची ८ को एकल अधिकारबमोजिम स्थानीय सरकारले विद्यालय शिक्षाको दायित्व र जिम्मेवारी कार्यान्वयन गर्दै आएका छन्, तसर्थ माध्यमिक तह सम्मको शिक्षा स्थानीय सरकारको दायित्व हुने गरी संविधानले गरेको वर्तमान व्यवस्था नै अग्रगामी र उत्कृष्ट प्रावधान भएकाले यसैबमोजिम ऐन जारी होस् भन्ने चाहन्छ ।”