बैशाख १६, २०८२ मंगलबार

ओखलढुङ्गा, १६ वैशाखः बाढीले बगाएको खार्तेखोलाको मोटरेबल पुल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष बगाएको रुम्जाटार–कुइभिर सडकअन्तर्गत खार्ते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको हो । विसं २०८१ को भदौमा सम्पन्न गर्नेगरी २०८० साल कात्तिकमा पुष्पाञ्जली कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो । 

    स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) मानभवन लिलितपुरको सहयोगमा ६० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८१ भदौको अन्तिममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर सबिन लामाले जानकारी दिनुभयो । 

    मोटरेबल पुलमा आवश्यक पर्ने सम्पूर्ण सामग्री फिल्डमा ल्याएर निर्माणको काम धमाधम भइरहेको बेलामा बाढीले बगाएको थियो । विक्रम संवत् २०८१ जेठ १२ गते खार्ते खोलामा आएको बाढीले सम्पूर्ण निर्माण सामग्री बगाएको निर्माण कम्पनीले जनाएको छ । एक लाख किलो फलामे ट्रस्ट, ग्याबिन जालीलगायत निर्माणमा प्रयोग गरिने सामग्री बगाउँदा रु ७२ लाख बराबरको घाटा भएको निर्माण कम्पनीको दाबी रहेको छ ।  

    फलामे ट्रस्टको करिब ६० प्रतिशत बिमा भुक्तानी नभएका कारण ठूलो घाटा ब्यहोर्नुपरेको निर्माण व्यवसायी बबी श्रेष्ठले जानकारी दिनुभयो । बाढीले बगाएर पूर्ण क्षति भएको मोटरेबल पुलको काम धमाधम भइरहेको छ । असार मसान्त आगावै सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण काम्पनीले जनाएको छ । पुल निर्माणको काम करिब ८० प्रतिशतभन्दा पनि बढी सम्पन्न भइसकेको स्थानीय सडक पुल कार्यक्रमका इन्जिनियर सबिन लामाले जानकारी दिनुभयो । 

    मुख्य अप्ठ्यारो ट्रस्ट जोड्ने काम सम्पन्न हुन लागेको र अब  कठिन काम कम भएकाले समयमै काम सम्पन्न हुने इन्जिनियर लामाले बताउनुभयो । पूलका निर्माण सामग्री बाढीले बगाएको समयमा र अरू बेलामा पनि सामान्य सहयोगका लागि हारगुहार गर्दा चिसङ्खुगढी गाउँपालिकाले कुनै सहयोग नगरेको निर्माण व्यावसायीको गुनासो रहेको छ । 

    स्थानीय तहले सडक मर्मत नगरेका कारण पुल निर्माण सामग्री ल्याउन करिब रु एक लाख ५० हजार रकम खर्च गरेर सडक मर्मत गर्नुपरेको निर्माण व्यवसायी श्रेष्ठले गुनासो गर्नुभयो । निर्माणाधीन मोटरेबल पुल खार्ते खोला चिसङ्खुगढी गाउँपालिका–३ र ८ मा पर्दछ । 
–––