बैशाख १८, २०८२ बिहिबार

मकवानपुर, १८ वैशाखः हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ ।

    साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा यस्तो यन्त्र राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जडान कार्य अगाडि बढ्ने सो संस्थमा अध्यक्ष श्रीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रविधिले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्रका स्थानीय बासिन्दालाई १५ मिनेटअघि नै चट्याङको चेतावनी दिने साइरन बज्ने छ ।  

    गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ चट्याङको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधि अत्यन्तै उपयोगी हुने बताउनुभयो । उहाँले यसबाट पूर्वजानकारी मिल्ने भएकाले चट्याङबाट सचेत रहन र समयमै सुरक्षा सावधानी अपनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

राक्सिराङ–१ को राम्चे, वडा नं २ र ३ को भाट्टी, वडा नं ४ कार्यालय, वडा नं ५ को चैनपुर, ६ को सिलिड्डे विद्यालय,  ७ को गर्लिङ, ८ को पाङ्बुङ र वडा नं ९ को प्रहरीचौकी कान्द्राङमा साइरन प्रणाली जडान गरिने छ ।

    पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहकार्यमा एक मुख्य सेन्सर र आठवटा साइरन सिष्टम वितरण गरिएको हो । अब स्थानीयलाई यसबारे आवश्यक सचेतना र जानकारी दिएर जडानको काम अगाडि बढाइने अध्यक्ष मल्लले बताउनुभयो ।