बैशाख १८, २०८२ बिहिबार

काठमाडौँ, १८ वैशाखः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ । 

मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका हुने चर्चा गर्दै मन्त्री भण्डारीले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीति सुधारका काम प्रारम्भ भएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा श्रममन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गर्नुभएको छ ।