भक्तपुर, १९ वैशाखः ट्राफिक प्रहरी परिसर भक्तपुरले आजदेखि आफ्नै भवनमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।
सूर्यविनायक नगरपालिकाले रु आठ लाखको लागतमा ट्राफिक सचेतना कक्षा सञ्चालनका लागि एककोठे भवन निर्माण गरिदिएपछि यहीबाट सेवा सञ्चालन गरिएको ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो । यसअघि ‘टेन्ट’मा राखेर कक्षा सञ्चालन गर्दा पानी पर्दा नजिकैको पार्टी प्यालेसमा कक्षा लिनुपर्ने बाध्यता थियो । अब स्थायी रुपमै सो समस्या समाधान भएको छ ।
भक्तपुरदेखि काभ्रेसम्मका चालकहरूका लागि यहाँ दैनिक रूपमा बिहान ९ देखि २ बजेसम्म कक्षा सञ्चाल गर्ने गरिएको छ । प्रहरी निरीक्षक खत्रीले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको बताउनुभयो । उहाँले हरेक दिन एक सयदेखि एक सय ५० जनाले कक्षा लिने गरेको बताउनुभयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने, लेन अनुशासन उल्लङ्घन गर्ने, तीव्र गति र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा पर्ने चालकका लागि एक घण्टा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ ।
नगरप्रमुख वासुदेव थापाले सचेतना कक्षा नहुँदा ट्राफिक कार्यालयले भोगिरहेको समस्या समाधानका लागि एककोठे भवन निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक सचेतना कक्षा लिन अब घामपानीको सकस अन्त्य भएको छ । हामीले ट्राफिक प्रहरीलाई मात्रै होइन सार्वजनिक सरोकारका काममा सहजता ल्याउन अन्य निकायलाई पनि यस्तै सहयोग गर्दै आएका छौँ ।”
सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।