बैशाख २३, २०८२ मंगलबार

बलेवा (बागलुङ), २३ वैशाख : जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणीकरण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले पूर्णखोप सुनिश्चितता घोषणा गर्नुहुँदै  यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।  
कार्यक्रममा पालिकालाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख थापाले जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनलाई हस्तान्तरण गर्नुभयोे । सो अवसरमा नगरप्रमुख पुनले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयोे, “राष्ट्रिय खोप तालिकाअनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्णखोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।”
नगरपालिकाले दिगोपना र पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेरअनुसार खोप पाए÷नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाखमा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
 
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । नगरका १५ महिना उमेर समूहका तीन सय १३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित बनेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो ।