बैशाख २५, २०८२ बिहिबार

बनियानी (झापा), २५ वैशाखः झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ ।

    नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताउनुभयो । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेकाले बिहीबार (आज) बालमैत्री नगर घोषणा गर्न लागिएको जानकारी दिनुभयो । 

औसतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । “राष्ट्रिय मापदण्डअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुईवटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत वर्ष असार ४ गते नै सम्बन्धित निकायबाट बालमैत्री नगर घोषणाको अनुमति पाइसकेका छौँ”, उहाँले भन्नुभयो । 

बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले छ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि छ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छभने नौजना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको नगरका बालकल्याण अधिकारी उमानाथ भण्डारीले बताउनुभयो ।

    बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानुन निर्माण गरिसकेको छ । बालविवाह, लागुऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । नगरको १२औँ स्थापना दिवसको अवसर पारेर आज बालमैत्री नगर घोषणा गरिने उहाँले जानकारी दिनुभयो । 

    बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरूले नगरसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनुभयो । नगर कार्यपालिकाबाट विसं २०७९ माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय भएको थियो । त्यसको चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।