बैशाख २५, २०८२ बिहिबार

काठमाडौँ, २५ वैशाखः काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् ।

    भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ । पर्यटकलाई काठमाडौँबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौँ ।”

    भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने उहाँको भनाइ छ ।

    टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताउनुभयो । “सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो ।

    टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि रारा जाने यो उपयुक्त सिजन हो । काठमाडौँबाट बस यात्रा गराएर रारा पु¥याउन सक्यौँ र यसका लागि थप प्याकेज बनाउन सक्यौँ भने रारामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ ।”

    भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।