टोकियो, २५ वैशाख : एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् ।
‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पश्चिमी सहर ओसाकामा आयोजित एक्स्पो २०२५ का आयोजकहरूले एक वक्तव्यमा उनीहरूले सन् १९४० को कार्यक्रमको टिकटधारीहरूलाई प्रवेश दिने निर्णय गरेको बताएका छन् ।
उनीहरूले सोमबार पुरानो टिकटको सट्टामा एक्स्पो २०२५ का दुई दिने पास उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सञ्चार माध्यमले सन् १९४० को टिकटवाला २५ वर्षीय फुमिया ताकेनावा रहेको जनाएको छ । उहाँ टोकियोमा बस्नुहुन्छ तर ओसाकामा आफ्ना अभिभावकको घरमा घुम्न आउनुभएको थियो ।
ताकेनावा एक्स्पो–सम्बन्धित स्मारिकाका सङ्ग्रहकर्ता हुनुहुन्छ र मार्चमा उहाँले अनलाइनमार्फत सन् १९४० को टिकट खरिद गर्नुभएको माइनिची शिम्बुन दैनिक र अन्य स्रोतहरूले उल्लेख गरेका छन् ।
उनीहरूले ताकेनावाको तस्बिर प्रकाशित गरेका छन् जसमा उहाँ मुस्कुराउँदै र विस्तृत रातो र कालो डिजाइन भएको पुरानो टिकट देखाउँदै हुनुहुन्छ ।
पेरिसमा आइफेल टावर ल्याउने एक्स्पो वर्ल्ड्स फेयर सन् १८५१ मा लन्डनको क्रिस्टल प्यालेस प्रदर्शनीसँग सुरु भएको थियो र अब प्रत्येक पाँच वर्षमा विभिन्न स्थानमा आयोजना गरिन्छ ।
जापानमा अघिल्लो एक्स्पोहरू – सन् १९७० मा ओसाकामा र सन् २००५ मा आइची क्षेत्रमा – ले सन् १९४० को घटनाका पासधारकलाई ‘आमन्त्रण टिकट’ दिने समान नीतिहरू राखेको एक्स्पो २०२५ का आयोजकहरूले बताएका छन् ।
ताकेनावा भनिएका व्यक्ति विशाल सेतो र रातो ‘टावर अफ द सन’ का प्रशंसक रहेको बताइएको छ । ‘टावर अफ द सन’ सन् १९७० को ओसाका एक्स्पोको प्रतीक हो र अझै पनि महानगरको एक पार्कमा उभिएको छ ।