जेठ ३, २०८२ शुक्रबार

काठमाडौँ, २ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आउनुभएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारीपत्रमा हस्ताक्षर भएको प्रसङ्ग उल्लेख गर्दै उहाँहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताउनुभयो । नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो । 

साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूबीच कुराकानी भएको थियो । सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आउनुभएको थियो ।