भदौ १५, २०७८ मंगलबार

कोभिड–१९ रोगका कारण केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरू खोल्ने तयारी शुरु भएको छ । विज्ञहरूले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।


काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । भदौ १५ देखि सरकारी र सामुदायिक दुवै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिक रूपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ ।

​आजदेखि विद्यालय सञ्चालन गर्ने अनुमति दिइए पनि फाट्टफुट्टरुपमा मात्र विद्यालय खुलेका छन् । अब आइतबारदेखि पूर्ण रूपमा विद्यालय सञ्चालन गर्ने तयारी भएको सञ्चालकहरूले बताएका छन् ।