जेठ ११, २०८२ आइतबार

    बेङगलोर, ११ जेठ : भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ ।     
     
केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डाबाहक जहाज हो ।     
     
भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी इएलएसए ३) भारतीय बन्दरगाह भिझिन्जमबाट शनिबार कोच्चितर्फ जाँदै गरेको थियो ।     
कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा कन्टेनर जहाज खतरनाक अवस्थामा देखिएको भारतीय नौसेनाले जनाएको छ ।     
     
भारतीय तटरक्षक बल (आईसीजी) र नौसेनाको गस्ती डुङ्गाले जहाजमा रहेका जर्जिया, रुस, युक्रेन र फिलिपिन्सबाट आएका चालक दलका सबै २४ सदस्यलाई उद्धार गरेको छ ।     
     
“जहाजमा ६४० वटा कन्टेनर रहेका र तीमध्ये १३ वटामा हानिकारक कार्गो थियो भने १२ वटामा क्याल्सियम कार्बाइड थियो,” विज्ञप्तिमा भनिएको छ।     
     
रक्षा मन्त्रालयले ती कन्टेनरभित्र हानिकारक कुरा के थियो भन्नेबारेकेही बताएको छैन । जहाजमा मल उत्पादन र स्टिल उत्पादनका लागि उपयोगी ‘क्याल्सियम कार्बाइड’ पनि थियो । क्याल्सियम कार्बाइड रासायनिक उद्योगमा प्रयोग हुने हानिकारक रसायन हो ।     
     
“केरलाको तटमा संवेदनशील समुद्री इकोसिस्टमलाई ध्यानमा राख्दै आईसीजीले पूर्ण प्रदूषण नियन्त्रणका लागि आवश्यक तयारी गरेको छ,” नौसेनाले भनेको छ ।     
     
उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो । अहिलेसम्म कुनै पनि तेल चुहिएको खबर नआएको बताइएको छ ।