जेठ १५, २०८२ बिहिबार

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समाधान गर्न समाजवाद कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक तथा राजनीतिक समस्याको हल गरी समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

नेता खनालले देशमा रोजगारी सृजना नहुँदा श्रमजीवी युवा, विदेशिन बाध्य भइरहेकाले कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले शान्तिपूर्ण दोस्रो आन्दोलनले निरङ्कुश राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको आजको दिन देशको इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

     देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिलाई एकजुट हुन आव्हान गर्दै उहाँले समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक क्रियाशील हुन आग्रह गर्नुभयो ।