जेठ १५, २०८२ बिहिबार

ठाकुरबाबा (बर्दिया), १५ जेठः बढैयाताल गाउँपालिका–७ फूलपुरका किसान इश्वरीप्रसाद थारुले बेमौसमी तरकारीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

    असोजदेखि जेठसम्म चार बिघाह जमिनमा आधुनिक प्रविधिमार्फत बेमौसमी तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको हो ।

    सरसठ्ठी वर्षीय थारु २०४६ सालदेखि कृषि पेसामा सक्रिय हुनुहुन्छ । उहाँले परम्परागत शैलीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको हो । उत्पादन भएका माटर, काउली, बन्दा, काँक्रा, फर्सी, तरबुजा, लौकालगायत बेमौसमी तरकारी स्थानीय बजारमा महँगोमा बिक्री हुने भएकाले आम्दानी प्रशस्त भइरहेको उहाँले बताउनुभयो ।

    थारुले जैविक मल, प्लास्टिक मल्चिङ प्रविधि, उन्नत बीउ र कृषि शाखाबाट प्राप्त प्राविधिक सहयोगमार्फत उत्पादन बढाउँदै आएका बताउनुभयो । “व्यापारीहरू बारीमा आउँछन् र थोकमा किनेर लैजानन्छन् । यसले बजारीकरणको समस्या पनि छैन”, उहाँले भन्नुभयो । 

    उमेर होइन, आत्मविश्वास महत्त्वपूर्ण विषय भएकाले काम गर्न सधैँ उत्साहित हुने थारुको भनाइ छ । “सरकारले थप तालिम, अनुदान र औजार उपलब्ध गराए कृषि पेसाप्रति किसानको आकर्षण बढ्ने छ”, उहाँले भन्नुभयो ।
---