जेठ १५, २०८२ बिहिबार

काठमाडौँ, १५ जेठः विभिन्न राजनीतिक दलका नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा देखापरेका कमी कमजोरी सुधार गरेर प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् ।

    अठारौँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेताहरुले वर्तमान व्यवस्थालाई सुधार गरेर अघि बढ्नुपर्ने जनमत नै बलियो रहेको बताउनुभएको हो ।

    कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री एवम् कांग्रेसका नेता नरहरि आचार्य, अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता शेरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता माधव सापकोटा, पूर्वमन्त्री एवम् कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद प्रतिमा गौतम, पूर्वराजदूत पदम सुन्दास, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायत सहभागी थिए ।