खोटाङ, १८ जेठः दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो खण्डका रूपमा रहेको दिखुवाखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल-खानीडाँडा-रेग्मीटार खण्डमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माण सुरु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र वडा नं १५ विजयखर्कको सिमाना पर्ने दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षाको करिब छ महिना यातायात ठप्प हुने गरेको छ । सडक सञ्चालनमा आएको लामो समयपछि प्रदेशको सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवाखोलामा मोटरेबल पुल बन्न लागेको हो ।
दिखुवाखोलामा निर्माण हुने मोटरेबल पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभयो । पुल निर्माणका लागि करिब रु पाँच करोड ५० लाख लाग्ने पूर्वाधार मन्त्रालयले अनुमान गरेको छ ।
ट्रस ब्रिज निर्माणका लागि आवश्यक सामग्री पुल सहयोग एकाइले उपलब्ध गराउने एकाइ प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पुलका लागि करिब रु दुई करोड बढीको स्टिल ट्रस तयार पारिसकिएको छ ।
केही महिनाभित्र आशयपत्र आह्वान गरेर बाँकी काम सुरु गरिने मन्त्रालका सचिव अशोककुमार साहले जानकारी दिनुभयो । पुल निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री राईले गत फागुनदेखि पहल गर्नुभएको थियो ।
दिक्तेल–महुरेअन्तर्गत २० किलोमिटर र महुरे-राजापानी-रेग्मीटार सडकअन्तर्गत २९ किमी खण्डमा कालोपत्रको काम भइसकेको छ । निर्माणाधीन दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार खण्ड दिक्तेल-महुरे-राजापानी-रेग्मीटार भन्दा १७ दशमलव पाँच किमी छोटो छ ।
दिक्तेल रुपाकोट मझुवागढी-४ खाल्लेको आहालेबाट हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको घर्तीभिरसम्म र सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल-गाईघाट खण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ । घर्तीभिरमा ठूलो चट्टान भएकाले हाल सडक सञ्जालसँग जोड्ने काम भइरहेको जनाइएको छ ।
निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ-११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको छ । दिक्तेल-रेग्मीटार सिँधा सडक यही वर्ष जोडिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
दिखुवाखोलामा मोटरेबल पुल नहुँदा यात्री तथा व्यवसायीका लागि दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुँदै आएको छ । दिक्तेल-खानीडाँडा-रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत ढुवानीमा सहज हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।
---