काठमाडौँ, १९ जेठः व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम राष्ट्रिय शुभारम्भ समारोहमा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका कला तथा संस्कृति विभाग प्रमुख चन्द्रिका दिदीले एकता र विश्वासका लागि स्वयंमाथि विश्वास गर्नुपर्ने बताउनुभयो ।
“हामीले अरुका पनि राम्रो गुण देख्नुपर्छ, यसले सम्मानभाव हुन्छ, यसले एकता बढ्छ, विश्वास र एकताले विश्व शान्तिका लागि सहयोग गर्छ,” उहाँले भन्नुभयो । व्यक्तिको जीवनमा ध्यान शक्तिशाली सूत्र भएको उल्लेख गर्दै उहाँले यसका माध्यमबाट साधक सर्वोच्च ऊर्जासँग जोडिने बताउनुभयो । ध्यान–योगकै माध्यमबाट आपसी एकता र विश्वाससमेत बढ्ने उहाँले बताउनुभयो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्मकुमारी राज दिदीले हाल मानिसलाई सबभन्दा ठूलो आवश्यकता शान्ति भएको बताउँदै मनमा प्रेम र भ्रातृत्वको भावनाले परिवार एवं मुलुकमा शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा कला र संस्कृतिका विषयमा विज्ञको प्रस्तुति थियो । दोस्रो चरणमा राजयोगले जीवन जिउने कला सिकाउने विषयमा प्रस्तुति थियो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हरिहर शर्माले कला, संस्कृतिले मानिसको जीवनमा सुख र शान्तिको अनुभूति गराउने बताउनुभयो । यसका लागि नियमित अभ्यास आवश्यक रहेको उहाँको धारणा थियो ।
सङ्गीतकार डा टीका भण्डारीले मानिसमा सकारात्मक अनुभूतिका लागि ध्यान योगको आवश्यकता रहेको बताउनुभयो । १५ वर्ष पहिलेदेखि आफूले राजयोगको अभ्यासलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।