काठमाडौँ, १९ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन जानुभएका उहाँ आज बिहान साढे १० बजेतिर स्वदेश फर्कनुभएको हो ।
उहाँसग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक र फलदायी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताउनुभयो ।
“भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमुलक भयो ।” उहाँले भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र नेपाल कम्ष्युष्नि पार्टी (एमाले)को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको बताउनुभयो ।
उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताउनुभयो । चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गर्नुभएको थियो ।
यही जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत चीन भ्रमणमा जानुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गर्नुभएको थियो ।