जेठ १९, २०८२ सोमबार

वीरगञ्ज (पर्सा), १९ जेठः नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकका सहभागीले दुवै मुुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    आज यहाँ बसेको पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख र छिमेकी सीमावर्ती जिल्ला भारतको पूर्वी र पश्चिम चम्पारण जिल्लाका ‘डिष्ट्रिक म्याजिष्टेड’ र सुरक्षा निकायका प्रमुखबीच बसेको सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलुकबीच अन्तरदेशीय अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न एक आपसमा सूचना आदानप्रदान गर्ने प्रतिवद्धता जनाए । 

    पर्साका प्रजिअ गणेश अर्यालले सीमावर्ती जिल्लाका प्रमुख तथा सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुन सक्ने अन्तरदेशीय अपराध र अन्य गतिविधि न्यूनीकरणका लागि नियमित बैठक बस्दै आएको जानकारी दिनुभयो । “दुवै मुलुकका जिल्लास्तरमा भएका साझा मामिलाको विषयमा सौहार्दपूर्ण छलफल गरेका छौँ । यसले आगामी दिनमा सीमा क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम  गर्न थप सरलता ल्याउने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “सीमावर्ती भारतको विहारमा हुन लागिरहेको आसन्न निर्वाचनको शान्ति सुरक्षाको विषयमा भारतीय पक्षले आफ्नो अपेक्षा राख्नुभएको छ । सो विषयमा तर्फ हाम्रो तर्फबाट आवश्यक प्रतिवद्धता व्यक्त गरेका छौँ ।”

    प्रजिअ अर्यालले कोभिडको सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कताको विषयमा छलफल भएको जानकारी दिनुभयो । “नक्कली मुद्राको अपचलनको विषयमा पनि दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने छलफल भयो,” उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा छलफल गरेका छौँ । यसले आगामी दिनमा त्यस्ता गतिविधि न्युनीकरणमा सहयोग पुग्नेछ ।”

    बाराका प्रजिअ वसन्त अधिकारीले भारततर्फको पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउनुभयो । “कार्यक्रममा भन्सार, वनलगायतका दुवैमुलुकका प्रतिनिधिबीच सीमा क्षेत्रमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न र विपद्जन्य गतिविधिमा दुवैपक्षबीच मानवतावादी कार्यमार्फत मानवीय जनधन जोगाउने विषयमा पनि छलफल ग-यौँ,” उहाँले भन्नुभयो, “लागुऔषधको दुव्र्यसनी र ओसारप्रसार रोक्न सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भयो ।” 

    सो बैठकमा सिर्सिया नदी प्रदुषण, अवैध व्यापार नियन्त्रण, मानव बेचविखन, विपद्मा उद्धार र सहयोग, नक्कली मुद्राको अपचलनलगायतका विषयमा छलफल भएको थियो । पूर्वीचम्पारण जिल्लाका डिष्ट्रिक मेजिष्टेड सौरभ जौरवल, पश्चिम चम्पारणका डेपुटी डेभलपमेन्ट कमिसनर सुमित कुमार र भारतीय अर्धसैनिक बल एसएसबी, पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रहरी प्रमुखको उपस्थिति थियो ।