जेठ १९, २०८२ सोमबार

सिमकोट, (हुम्ला), १९ जेठ : यहाँस्थित जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । 

मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । जल तथा मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारीअनुसार हुम्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर भारी वर्षाको सम्भावना छ । त्यसैले बाढी पहिरोको उच्च जोखिम रहेकाले सुरक्षित रहन र विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 
   
सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत सामग्री वितरण प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिप्रका हुम्लाले जनाएको छ । 

स्थानीय तहहरूलाई विपद्को समयमा आफूसँग भएको स्रोतसाधन तयारी अवस्थामा राखी आवश्यकताअनुसार आम नागरिकलाई सतर्कता अपनाउन पहल गर्न समेत प्रशासनले आग्रह गरेको छ । 
   
     जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनका कारण यस वर्ष चार लाख ५० हजार बढी घरपरिवार, करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क अपनाउन आग्रह गरिएको हो  ।