जेठ २०, २०८२ मंगलबार

काठमाडौँ, २० जेठः काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा डल्लुस्थित सामुदायिक सेवा परिषद््को परिसरमा रु चार करोड ३३ लाखको लागतमा अस्पताल निर्माण गरिएको छ । 

    भूकम्प प्रतिरोधात्मक पाँच तल्ले भवन निमार्ण गरिएको हो । त्यसमा शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्षसहितको ३० शय्या छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ निकाय, सङ्घ संस्थाबाट जाँच परीक्षण, शल्यक्रियासम्बन्धी सामान, अस्पताललाई आवश्यक पर्ने अन्य महङ्गा स्वास्थ्य सामग्री प्राप्त भएका छन् । 

    काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले सामुदायिक अस्पतालको अवधारणामा निर्माण गरिएको भवनबाट प्रवाह हुने स्वास्थ्य सेवा सर्वसुलभ हुने बताउनुभयो । महानगरवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन प्रत्येक वडामा यस्तो अस्पताल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    अस्पताल सञ्चालनका लागि महानगरपालिकाले स्वीकृति दिन सक्ने व्यवस्था रहेकाले नव निर्मित भवनबाट अब छिट्टै अस्पतालको सेवा सञ्चालन हुने छ । करिब साढे दुई रोपनी क्षेत्रफल रहेको सो ठाउँमा परिषद््ले भवन निमार्ण गरिए पछि अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ । 
 
    करिब तीन दशकदेखि ओपिडी सेवा सञ्चालन गरेको परिषद््ले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमूना अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । परिषद्ले सामाजिक सुरक्षा प्राप्त ज्येष्ठ नागरिक, सिमान्तकृत तथा हिंसामा परेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नवनिर्मित भवन हालै समुदायलाई हस्तान्तरणसमेत गरिएको छ । हाल यहाँ २७ चिकित्सक कार्यरत छन् ।