जेठ २०, २०८२ मंगलबार

काठमाडौँ, २० जेठः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिँहले बर्सातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदीमा गेग्र्यान हटाउने काम भइरहेको बताउनुभएको छ । उहाँले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताउनुभयो ।

    बर्सातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार विकास समितिमा बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिँहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताउनुभयो । 

    “विगतका घटनाबाट पाठ सिक्नुपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो । उपप्रधानमन्त्री सिँहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने बताउनुभयो । 

    बाग्मती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्र्यान हटाउने काम भइरहेको छ । 

    समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताउनुभयो । उहाँले विपद् हेर्नेगरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयमा ‘फोकल पर्सन’ तोकेर काम भइरहेको जानकारी दिनुभयो । सचिव सिग्देलले अघिल्लो वर्षको बाढीबाट क्षति पुगेका १० झोलुङ्गे पुल निर्माण कार्य सकिएको बताउनुभयो ।