जेठ २१, २०८२ बुधबार

फुङ्लिङ (ताप्लेजुङ), २१ जेठः सहरीकरण, वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा गाउँ छोड्ने प्रवृत्ति तीव्र बनेका कारण गाउँका पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेका छन् । युवा गाउँ छाडेपछि परम्परागत पेसा क्रमशः ओझेलमा पर्दै गएको छन्  । तर, ताप्लेजुङको सिदिङवा गाउँपालिकाका केही युवा भने आफ्नो पुख्र्यौली पेसा जोगाउने प्रयासमा लागिरहेका छन् ।

    सिदिङवा गाउँपालिका–१ कालिखोलाका ३४ वर्षीय भीम भण्डारी यस्तै उदाहरण हुनुहुन्छ । उहाँका बाजे–बुबाले लामो समयदेखि गाई, भैँसी र चौँरी याक पालन गर्दै आउनुभएको थियो । भण्डारीले अहिले त्यसैलाई आधुनिक रूपमा विस्तार गर्दै आफ्नो पुख्र्यौली पेसालाई पुनर्जीवन दिनुभएको छ । हाल उहाँ तिम्बुङ पोखरी आसपासका हिमाली क्षेत्रका फेदीमा चौँरी गोठसँगै जीवन बिताइरहनुभएको छ । कहिले हिमाल चढ्दै त कहिले बादलसँग लुकामारी खेल्दै उहाँ १०० भन्दा बढी चौँरीसहित परम्परागत गोठाली जीवन जिउँदै आउनुभएको छ ।

    सोही गाउँका २७ वर्षीय भरत बानियाँ पनि यस्तै उदाहरण हुनुहुन्छ । उहाँका साथीहरू प्रायः वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा गाउँबाट बाहिरिएका छन् । तर, उहाँले भने गाउँमै बसेर पुख्र्यौली चौँरी गोठालो पेसा सम्हाल्ने निर्णय गर्नुभएको छ । कहिले तिम्बुङ पोखरी त कहिले फालेलुङ डाँडातिर चौँरी लिएर हिँड्ने बानियाँ अब आफ्नै जीवनशैलीमा रमाउन थाल्नुभएको छ ।

    हालै गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङवा धाम पर्यटन महोत्सवमा भण्डारी र बानियाँले आफ्ना चौँरी थाम डाँडामा प्रदर्शनमा राखेको थियो । चौँरी गोठप्रति युवाहरूको चासो घट्दै गएकाले यसको महत्त्व बुझाउने उद्देश्यले उहाँहरूले महोत्सवमा सहभागिता जनाउनुभएको थियो । 

    पछिल्लो समयमा चौँरी गोठ क्रमिक घट्दै गएसँगै चौँरी गोठसँग पर्यटन क्षेत्र जोड्नुपर्ने पर्यटन व्यवसायी अमिर राईको भनाइ छ । पर्यटकहरु गोठस्टेमा बस्न रुचाउने, चौँरी याकहरुसँग भिडियो बनाउने, तस्बिर लिन मन पराउने भएकाले पर्यटनसँग गोठ जोडनुपर्ने राईको भनाइ रहेको छ । 

    आर्थिक पक्षमा भने चौँरीपालन सहज छैन । विगतमा चीनतर्फ निर्यात हुने याक तथा चौँरीको बजार अहिले खुम्चिएको छ । लामो समयदेखि सीमावर्ती नाका नखुलेपछि किसानहरूले पालिएका याक बिक्री गर्न नसकेको र आर्थिक रूपमा सङ्कट बेहोर्नुपरेको उहाँहरूको गुनासो छ ।

    पहाडी तथा हिमाली भेगमा चौँरी गोठालो संस्कृति मात्र नभएर जीवन निर्वाहको माध्यमसमेत हो । भण्डारी र बानियाँजस्ता युवाको प्रयासले यो परम्परा जोगिनसक्ने आशा देखिएको छ । यस्ता पहललाई राज्य र स्थानीय तहले प्रोत्साहन गर्न सके पुख्र्यौली पेसा संरक्षणको अभियान थप सशक्त बन्न सक्नेछ ।