जेठ २१, २०८२ बुधबार

    इस्तानबुल, २१ जेठ : टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उहाँहरूलाई पक्राउ गरिएको हो ।     
     
इस्तानबुलका एक पूर्व सांसद र तीन जना सीएचपी मेयर तथा दक्षिणी प्रान्त अदानामा थप दुई जनालाई लक्षित गरी पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन् ।     
     
राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर एकरेम इमामोग्लुसहित जेलमा रहेका सीएचपीका मेयरको संख्या नौ पुगेको छ ।     
     
इस्तानबुलमा केन्द्रित चार वटा छुट्टाछुट्टै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतले ४७ जना नगरपालिका अधिकारीलाई पक्राउ आदेश जारी गरेपछि पछिल्लो अनुसन्धान सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।     
     
इमामोग्लुलाई मार्च १९ मा पक्राउ गरी जेलमा थुनेपछि टर्कीएमा एक दशकयताकै सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो ।     
     
इमामोग्लुका निजी सचिव र उहाँका निजी सुरक्षा अधिकारीसहित इस्तानबुल सिटी हलमा भएको भ्रष्टाचारसँग सम्बन्धित करिब ७० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।     
     
सीएचपीले इमामोग्लुलाई सन् २०२८ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारको रूपमा मनोनीत गरेको छ तर उहाँ चुनावमा भाग लिन पाउनुहुन्छ कि पाउनुहुँदैन भन्ने कुरा धेरै परीक्षण र अनुसन्धानको भाग्यमा निर्भर गर्दछ ।