जेठ २२, २०८२ बिहिबार

झापा, २२ जेठः कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रतियोगितात्मक प्रदर्शनीसहित कार्यक्रम आयोजना गर्न लागेको छ । 

एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका ७० वटा विद्यालयले भाग लिने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिको प्रयोगबिना मुलुकको समृद्धि यात्रा सम्भव छैन । कोशी प्रदेशमा भइरहेका खोज, अनुसन्धान र आविष्कारलाई प्रोत्साहित गर्न कार्यक्रम आयोजना गरिएको हो ।”

    विभागका अध्यक्ष गणेश पोखरेलले प्रदर्शनमा यहाँका एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने गरी तयारी गरिएको बताउनुभयो । प्रदर्शनीमा प्रथम हुने विद्यालयले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, तेस्रो हुनेले रु दुई लाख र सान्त्वना हुनेले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । 

प्रत्येक जिल्लाका एकजना उत्कृट सहभागी विद्यालयलाई रु २५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिसम्बन्धी नमूनालाई सहभागी गराइने छ ।

    प्रतियोगितामा १२५ वटा स्टल रहने र तीमध्ये २० वटा सशुल्क रहने अध्यक्ष पोखरेलले बताउनुभयो । प्रदर्शनीमा रामलक्ष्मण इनोभेसन सेन्टर, रोबर्ट एसोसिएसन, मदन भण्डारी कलेजलगायतको अप्रतियोगी आविष्कारहरू राखिने छन् । प्रदर्शनीकै क्रममा आयोजना हुने गोष्ठीमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिने पोखरेलले बताउनुभयो ।