जेठ २२, २०८२ बिहिबार

चितवन, २२ जेठः  चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् ।
 
सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन् ।
 
खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न हुनुहुन्छ । दुई बिघामा चैते धान लगाउनुभएको उहाँ समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा हुनुहुन्छ । 
 
समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निरास हुनुहुन्छ । 
 जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका कँडेल धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिनुहुन्छ । 
 
पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताउनुभयो । स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा  छलफल जारी रहेको जानकारी दिँदै उहाँले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । 

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।