जेठ २२, २०८२ बिहिबार

काठमाडौँ, २२ जेठः निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि तयारी अघि बढाइएको छ ।

मन्त्रालयले आधारभूत अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब रु एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने जनाएको छ । हालै मन्त्रालयले मापदण्डसमेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पताल सञ्चालनका लागि आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको सङ्ख्या ५७ छ । नयाँ आर्थिक वर्षमासमेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्डका आधारमा त्यस्ता अस्पताललाई सङ्घ सरकारले गर्ने जनशक्ति, उपकरण, औषधि तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजना तयारी अघि बढाएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको छ ।कार्यदलले सङ्घ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारेसमेत प्रष्टता ल्याउन सघाउनेछ ।