नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएको हो।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे। उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको दाबी गरे। उनले नेपाल एउटै भएकाले विदेशमा गएर प्रचारप्रसार गर्दा एकै प्रकारको प्रचार गर्न अनुरोध गरे।
‘राज्यले ध्यान दिन नसकेको बेला पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैँमा एउटा उदाहरणीय काम हो‚’ रेग्मीले भने‚ ‘प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ, हामी अहिले पहिला भन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ।’
टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए। उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमिकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए। पर्यटन बोर्डसँगको उक्त सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए।