जेठ २५, २०८२ आइतबार

चितवन, २५ जेठः भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ । पालिकाभित्रका ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुनेछ ।

    चितवन जिल्ला फुटबल सङ्घको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता गर्न लागिएको हो । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने सङ्घका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो  । 

    आगामी असार ४ गतेसम्म छनोट चरणका खेल हुनेछन् । ढकालका अनुसार पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्नेछन् । १७ वर्ष मुनिका खेलाडीको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाइनेछ ।

    भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर खेलमैदान, वडा नं १२ मा रहेको  रामबेल खेलमैदान,  वडा नं १४ को सुन्दरबस्ती खेलमैदान र वडा नं ५ मा रहेको स्मल हेभेन बोर्डिङको खेल मैदानमा पहिलो चरणका खेल हुनेछन् । 

    भरतपुर मेयरकप फुटबल लिगमा महानगरका एक हजार ४०० भन्दाबढी युवा खेलाडीको सहभागिता रहनेछ ।  असार १४ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख खर्च हुने अनुमान सङ्घले गरेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार ४ गते हुनेछ ।