लुम्बिनी, २५ जेठः बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् ।
रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र बुटवलसँग सीमा जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा सङ्घ र प्रदेशबाट बन्नुपर्ने कानुनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् ।
यस्तै पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटोछरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाको संरक्षण, नदीजन्य पदार्थको उत्खनन तथा उपयोगका सम्बन्धमा नदीको वहाबलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्न यी पालिकाबीच सहमति भएको छ ।
पालिकाहरुका बीचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योल समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने सहमति पनि छ वटा पालिकाले गरेका छन् ।
यस्तैगरी, सीमाक्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्न आवश्यक कार्य गर्ने, स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन निर्माणका लागि यथाशीघ्र निर्माण गर्न आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बीचमा भएको छ ।
यस्तै, यी छ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहरमैला विसर्जनस्थल वा प्रशोधन, तीनपाङ्ग्रे सवारी सञ्चालन, पर्यटन प्रवर्द्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् । कृषिउपज तथा अन्य उत्पादनको सङ्कलन, भण्डारण र बिक्री वितरण गर्न आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलको समाधान गर्न एकमत हुने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताउनुभयो । पालिकाबीच भएको सहमतिलाई सबै पालिकाहरुले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय गर्ने उहाँले बताउनुभयो ।
उहाँले स्थानीय तहहरुका बीचमा आपसी समन्वय, सहकार्य र साझेदारी कायम राख्नेगरी हरेक वर्ष सबै पालिकाको सहभागिता र सहकार्यमा बुटवल उपमहानगरपालिकाले अन्तरपालिका समन्वय बैठक तथा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रमले स्थानीय तहहरुका बीचमा सहकार्य, समन्वय र साझेदारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले बताउनुभयो ।
बुटवल र तिलोत्तमाका बीचमा धेरै विषयमा कैयौँ पटक छलफल गर्नुपर्ने र निकास निकाल्न कार्यक्रमले झनै प्रभावकारी बनाउने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । उहाँले बुटवलले थालेको यो अभ्यासले छिमेकी पालिकासँग सहकार्य र समन्वय गर्न सहज हुने बताउनुभयो ।
शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले नदीजन्य पदार्थदेखि विकासका काममा छिमेकी पालिकाहरुकाबीचमा अन्योल हुने गरेको अवस्थामा बुटवलले थालेको पहल प्रभावकारी हुने बताउनुभयो । उहाँले अन्य पालिकासँग समन्वय र सहकार्यको जरुरी रहेको बताउनुभयो ।
तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवल र तिनाउका बीचमा पानीको स्रोतदेखि अन्य क्षेत्रको सहकार्य रहिआएको र बुटवलले यसै वर्षदेखि आपसी साझेदारीमा विशेष जोड दिएको बताउनुभयो । उहाँले तिनाउबाट बुटवलमा पानी ल्याउने मुहान क्षेत्रको विकासका लागि रु दुई करोड विनियोजन गरेको र बुटवलसँगको सहकार्य अझ मजबुत बनेको बताउनुभयो ।