काठमाडौं, जेठ २६ - विवेकशील साझा युवा संगठनले सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निर्माणका लागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गर्ने निर्णयको कडा विरोध गरेको छ। संगठनका संयोजक युजन राजभण्डारीले आज जारी गरेको विज्ञप्तिमार्फत करदाताको पैसाबाट राजनीतिक दलको भ्रातृ संगठनको भवन निर्माण गर्नु "लोकतान्त्रिक मूल्य र नैतिकताको चरम अपमान" भएको बताएका छन्।
विवेकशील साझा युवा संगठनले यस विनियोजनलाई लिएर करदाताको रगत-पसिनाले तिरेको करबाट बनेको राष्ट्रिय बजेटको राजनीतिक संगठनको निजी प्रयोजनमा दुरुपयोग भएको भन्दै यसलाई "राज्यको स्रोतको खुलेआम लुट" संज्ञा दिएको छ। मुलुकमा बेरोजगारी, महँगी, स्वास्थ्य संकट, शिक्षामा असमानता र विपद् व्यवस्थापन जस्ता गम्भीर समस्याहरू रहेका बेला राजनीतिक संगठनको भवनमा बजेट छुट्याउनु गैरजिम्मेवार भएको संगठनको भनाइ छ। देशभरका स्कूलहरूको जीर्ण अवस्था र कच्ची संरचनाको समस्यालाई उल्लेख गर्दै यस्तो अवस्थामा राजनीतिक भवनमा बजेट दिनुलाई "लज्जास्पद" करार दिएको छ।
संगठनले सरकारसँग तरुण दलको भवन निर्माणका लागि विनियोजित बजेट तत्काल खारेज गर्न र उक्त रकमलाई शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र विपद् व्यवस्थापनमा पुनर्विनियोजन गर्न माग गरेको छ। संगठनले नागरिक समाज, स्वतन्त्र सञ्चारमाध्यम, संवैधानिक निकाय र जिम्मेवार नागरिकहरूलाई यस मुद्दामा एकजुट भएर आवाज उठाउन आह्वान गरेको छ।