जेठ २५, २०८२ आइतबार

    तेहरान, २५ जेठ : इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ ।     
     
सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम शहरमा यो प्रतिबन्ध विस्तार गरिएको छ ।     
     
हालैका दिनहरूमा कम्तीमा १७ अन्य शहरहरूले पनि यस्तै प्रतिबन्धहरू लागू गरेका छन्, जसमा मध्यमा इस्फाहान र दक्षिणमा केर्मान शहर समावेश छन्।     
     
सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिदेखि नै कुकुरको मालिक हुनु र सार्वजनिक स्थलमा घुमाउनु विवादको विषय बनेको छ । यद्यपि कुकुरको स्वामित्वलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कुनै कानून भने अख्तियार गरिएको छैन ।     
     
इस्लामिक धर्म मान्ने कैयौँ विद्वानहरूले कुकुर पाल्नु वा तिनीहरूको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ वा धार्मिक रूपमा अशुद्ध ठान्छन् भने केही अधिकारीहरूले तिनीहरूलाई पश्चिमी सांस्कृतिक प्रभावको प्रतीकको रूपमा लिन्छन् ।     
     
कुकुरको स्वामित्वलाई निरुत्साहित गर्ने व्यापक अभियानको एक भागको रूपमा स्थानीय अधिकारीहरूले सार्वजनिक स्थानहरूमा हिंड्न वा तिनीहरूलाई सवारी साधनमा बोक्न समय–समयमा प्रतिबन्ध लगाएका छन्।     
     
तेहरान र इरानका अन्य ठाउँहरूमा धेरै कुकुर मालिकहरूले आफ्ना कुकुरलाई डुलाइरहेका कारण प्रतिबन्धहरू लागू गर्नु धेरै हदसम्म असङ्गत भएको छ ।     
     
सुधारवादी इतेमाद पत्रिकाले आइतबार इलाम शहरका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने’ बताएको छ ।     
     
इरानको सरकारी अखबारले शनिबार भनेको छ, “सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्नका लागि पछिल्लो कदम चालिएको हो ।”     
पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भन्नुभयो, “कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो ।”     
     
सन् २०२१ मा इरानका करिब ७५सांसदले घरपालुवा जनावर कुकुरको स्वामित्वलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए ।     
     
सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘कुकुर पाल्ने, सिकार गर्ने र पहरा दिने’ बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय मानिने बताउनुभएको थियो ।     
     
“यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीहरूलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,” तस्नीम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरी उल्लेख गरेको छ ।