जेरुसेलम, २५ जेठ: इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ ।
गाजामा सेनाले गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाल महमुद बासाल इस्लामिक लडाकू समूहमा ‘सक्रिय आतङ्ककारी’ भएको बताएको हो । सन् २०२३ को अक्टोबरमा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही अघि बढाएको थियो ।
इजरायली सेनाले बासालको हमासको सदस्यताको सूची कहाँ र कसरी प्राप्त भयो भन्ने स्पष्ट नगरी मिडियालाई हमासको सदस्यता सूचीको प्रतिलिपि जारी गरेको थियो।
बासालले गाजामा आफ्नो गतिविधिबारे गलत र अपुष्ट सूचना फैलाएर हमासको उद्देश्य पूरा गरेको आरोप इजरायलले लगाएको छ ।
“यो झुटो आरोप हो”, बासालले एएफपीसँग भन्नुभयो, “म कुनै पनि सैन्य संगठनका लागि काम गर्दिनँ । संस्थाको अभियान अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित छ।”
नागरिक सुरक्षा एजेन्सीले दशकौँदेखि गाजा पट्टीमा इजरायली हवाई आक्रमणका पीडितहरूलाई अस्पताल पुर्याउन उद्धारकर्ताहरू तैनाथ गर्दै आएको छ।
यस सङ्गठनलाई प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो समाचारमा उद्धृत गर्छन् ।
पहुँच सीमित र जमीनमा स्थिति अराजक भएकोले यो स्वतन्त्र रूपमा हताहतको आँकडा वा एजेन्सीद्वारा रिपोर्ट गरिएको मृत्युको परिस्थितिको पुष्टि गर्न लगभग असम्भव छ।
इजरायली सेनाले हालै खाद्यान्न वितरण केन्द्रनजिकै सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै नागरिक सुरक्षा निकायबाट आलोचना खेपिरहेका बेला सेनाको यो आरोप आएको हो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका कारण इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको छ ।
शनिबार हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले गाजा युद्धमा मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ५४ हजार ७७२ पुगेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।