जेठ २७, २०८२ मंगलबार

कर्णाली, २७ जेठः कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष टेबुल गरिएको छ । 

    प्रदेशसभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमतिअनुसार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गर्नुभएको हो । 

    कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र सङ्गीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले मन्त्रालयले उक्त विधेयक ल्याएको हो ।

    त्यसैगरी, सभामुखको अनुमतिसँगै कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहीले प्रदेशसभा नियमावली २०८१ को नियम ११४ को खण्ड ‘क’ बमोजिम ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गर्नुभयो । विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभाका सांसद भीमप्रकाश शर्मा, कल्याणी खड्का र कलबहादुर हमालले भाग लिनुभयो ।

    सभामुख गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११७ बमोजिम उक्त विधेयकमा संशोधनको सूचना पेस गर्न चाहनुहुने सांसदका लागि ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गराउनुभयो । प्रदेशसभा सांसद पूर्णबहादुर खत्रीले आकस्मिक समयमा समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सभाको अर्को बैठक आगामी असार १ गते आइतबार दिउँसो ३ः०० बजे बस्नेछ ।