काभ्रेपलाञ्चोक, २७ जेठः जिल्लाको पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते–डो एसोसिएसन काभ्रेपलाञ्चोकद्वारा यही जेठ ३० र ३१ गते प्रतियोगिता हुने भएको हो ।
आयोजकद्वारा सोमबार बनेपामा पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा कम्तीमा १४ वटा जिल्लाका खेलाडी सहभागी हुने जानकारी गराइएको छ । प्रतियोगितामा तीन सय खेलाडीले २५ विधामा प्रतिस्पर्धा गर्ने अयोजकका सचिव राममणि काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार २४ स्वर्ण, २४ रजत र ४८ वटा कास्य गरी जम्मा ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, पुरुष अफिसियल तौल समूहतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० प्लस–फ्री तथा महिला अफिसियल तौल समूहतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ प्लस–फ्री मा प्रतिस्पर्धा हुनेछन् । यस्तै, पुरुष एकल काता एक सिनियर, महिला एकल काता एक सिनियर, पुरुष एकल काता एक जुनियर र महिला एकल काता एक जुनियरमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने जिल्लाले रु १० हजार, दोस्रो हुनेले रु सात हजार ५०० र तेस्रो हुने जिल्लाले रु पाँच हजार नगद र ट्रफी पाउनेछन् । पत्रकार सम्मेलनमा नेपाल सोतोकान कराते–डो एसोसिएसनका प्रमुख प्रशिक्षक धर्जेमान तामाङले प्रतियोगिताले जिल्ला हुँदै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।