दशरथचन्द (बैतडी), २७ जेठः बैतडीको पुर्चांैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चांैडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो ।
पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकीन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कँुवरले जानकारी दिनुभयो ।
यसअघि नगरका १० वटै वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।
नगरले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरेको स्वास्थ्य शाखा प्रमुख कँुवरले बताउनुभयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै २० जनालाई सम्मान गरिएको हो ।
नगरले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए÷नपाएको यकीन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । छुटेका भए उनीहरूलाई खोपको दायरमा ल्याएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ ।