जेठ २९, २०८२ बिहिबार

भक्तपुर, २९ जेठः दाङको घोराही उपमहानगरकी १३ वर्षीया सानी घर्तीको रहर स्टाफ नर्स पढेर समाजसेवा गर्ने हो । अस्पतालको शय्यामा बिरामीको सेवा गर्ने उनको सानैदेखिको रहर यतिबेला भक्तपुरको गठ्ठाघरमा घरेलु कामदारका रूपमा चौघेराभित्र साँघुरिएको छ ।

    भक्तपुरकै एक इँटाभट्टामा काम गर्ने आमासँग इँटा पल्टाउने काम गर्दै आएकी उनी भट्टामा काम सकिएर आमा गाउँ फर्किएपछि उनीघरेलु कामदारका रूपमा काम गर्दै आएकी छिन् । 

    कक्षा २ सम्म गाउँमै पढाइ गरेकी उनी ९ वर्षकी हुँदा आमाबुबासँगै भक्तपुरको एक इँटाभट्टामा आइपुगेकी हुन् । साँघुरो झ्याउलीको बसाइ, गरिबीको पीडा र चार जना सन्तानमध्येकी जेठी उनी १० वर्षदेखि घरको चौघेरामा घरेलु बालश्रमिकका रूपमा काम गर्दै आएकी छिन् ।

    पढेर नर्स बन्ने उनको चाहना त्यही घरमा लगाएको कुँचोले बढारे झै, जुठो भाँडा पखाल्दा पखालिएजस्तै भएको छ । गरिबीको घरमा जन्म लिनु दोष भएको बताउने उनी अहिले भने विद्यालयमा पढ्न आउन थालेकी छिन् ।

    आमाबुबासँगै रोल्पाबाट आएकी १५ वर्षीया जुनकिरी सार्कीको पढ्ने इच्छा पनि इँटाभट्टाको धूलोसँगैै उडेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि उनको पढ्ने चाहनाले पूर्णता पाएको छैन ।

    गाउँमा भिरबारीमा उब्जने कृषिबाट परिवार पाल्न नसक्ने भएपछि बुबाआमासँगै इँटाभट्टामा आइपुगेकी उनले मङ्सिरदेखि वैशाखसम्म इँटाभट्टाका झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्छिन् । असार लागेपछि इँटाभट्टामा काम बन्द हुने भएपछि अहिले एक तरकारी फार्ममा आफ्ना सपना माटोसँगै पल्टाउँदै आएकी छिन् ।

    सुनकिरी भन्छिन्, “पढ्ने चाहना त कति छ कति, तर हामी गरिबले कहाँ पढ्न पाउँछौँ ? आमाबाबुको कमाइले ऋण तिर्नै पुग्दैन, पाँच जनालाई कसरी खाना खुवाउनु भन्ने हुन्छ । कहिले इँटाभट्टाको माटोसँग, कहिले तरकारी फार्म, बङ्गुर फार्मको गोबरसँग सपनाहरू पल्टाइरहेकी छु ।”

    अरुले किताब बोकेर बस चढेको देख्दा रहर लाग्ने गरेको बताउँदै सरकारले गाउँगाउँमा अभिभावकलाई स्वरोजगार बनाउन सके गाउँ छाडेर बाँच्नका लागि यहाँ आउनु नपर्ने उनले बताइन् । जुनकिरीले भनिन्, “सरकार गाउँमा कहिले पुग्दा है? गाउँमा रोजगारी, मनलागे जति निःशुल्क पढ्ने व्यवस्था, उपचार गर्न अस्पताल कहिले पुग्ला? त्यति भए त यहाँको इँटाभट्टाको धूलो र हिलो, अनि कृषि फार्मको गोबरमाटो र विषसँग खेल्नै पर्दैनथ्यो ।”

    काठमाडौँ–भक्तपुर–धुलिखेल सञ्चालन हुने सार्वजनिक यातायातमा खलासी गर्दै आएका १४ वर्षीय मनबहादुर खड्का अब पढेर के हुन्छ र भनी प्रश्न गर्छन् । भकुण्डेबेँसीमा गरिबीले थिलथिलो बनेको परिवारलाई छाडेर सहर पसेका उनी पढ्ने रहरलाई गाउँमै बिसाएर आएको बताउछन् । 

    चुरोटको लामो सर्को तानेर धुवाँ फाल्दै खड्काले भने, “के छ र गाउँमा ढिँडो पनि पेटभरि खान पाएदैँन, यहाँका सधैँ मासुभात खाएको छु, अलिअलि भएपनि पैसा खेलाउन पाएको छु । दुईवर्ष भयो खलासी गरेको, मेरो पढ्ने चाहनालाई गाउँमै छोडेर यहाँ आएको हुँ । अब त सवारीचालक (ड्राइभर) बन्ने सपना छ ।”

    प्रस्तुत पात्रहरू बालश्रम गरिरहेको केही नमूना मात्रै हुन् । यस्ता धेरै बालश्रमिक आज पनि जीवन खोज्दै भविष्यको सपना बोकेर भौतारिरहेका छन् । एक अध्ययन अनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टामात्रै एक हजारभन्दा बढी बालबालिका रहेका समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले बताउनुभयो ।

    इँट्टा बोक्दै गरेकी १६ वर्षीया टुल्की विकलाई एक वर्षकी आफ्नो छोराको चिन्ता छ । श्रीमान्सँगै इँट्टाभट्टामा काम गर्दै आएकी विकलाई ठेक्का लिएको इँट्टा सबै सिध्याउँदा हातमा रु ५० हजार नबचेपछि तरकारी फार्ममा काम गर्दैछिन् । 

    एउटा खाली जग्गा भाँडामा लिइ टहरा हालेर तरकारी फार्ममा काम गर्न थालेकी टुल्कीले बताइन् । उनले भनिन्, “इँट्टाभट्टामा काम गर्ने क्रममा एकजना (अहिलेका श्रीमान्)सँग प्रेमपछि विवाह भयो । एउटा छोरो छ, उसकै चिन्ता लाग्छ, पैसा बचाउन सकिएन । बालश्रम हो कि केहो, काम त गर्न परिहाल्छ । आज के दिवस हो थाहा छैन, दिवसले के दिन्छ र थाहा पाउनु ।”

    भक्तपुरका चार वटा इँट्टाभट्टालाई बालश्रममुक्त घोषणा गरिएको पाँच वर्ष भयो । तर हालसम्म कहिकतैबाट अनुगमन भएको छैन । अहिले तिनै इँट्टाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकायले प्रभावकारी कार्यान्वयन नगर्दा बालश्रम रोक्न सकिएको छैन ।

    इँटा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले इँट्टाभट्टालाई बालश्रममुक्त बनाउन खोजे पनि अभिभावकसँगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउनुभयो । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट आएका मजदुरसँगै आउने बालबालिकालाई अभिभावकले काम लगाउन अनुरोध गरेपछि दिने गरिएको उहाँको भनाइ छ ।

    बालश्रमको क्षेत्रमा ३० वर्षदेखि काम गर्दै आएको संस्था सिविसकी अध्यक्ष ज्ञवालीले अहिले पनि देशमा चौतर्फी बालश्रमिक रहेका बताउनुभयो । संस्थाले बालश्रम रोक्नलाई गाउँमा अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रम रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लामा सुरु गरेको जनाउँदै उहाँले राज्यले गाउँगाउँमा रोजगारमूलक कार्यक्रम पु¥याउन सके श्रमका लागि सहर पस्नुपर्ने बाध्यता अन्त्य हुने धारणा राख्नुभयो । बालबालिकासम्बन्धी ऐन संशोधनको सङ्घारमा रहेको अवस्थामा ऐनलाई व्यवहारिक हुनेगरी संशोधनमा लैजान सांसदहरूलाई ज्ञवालीले आग्रह गर्नुभयो ।

    सिविसका बालअधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेका जनाउँदै दुई लाख हाराहारीमा बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेका बताउनुभयो ।

    सङ्घीय सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्कमा आधारित रहेर उहाँले ५ देखि १७ वर्ष उमेर समूहका १३ दशमलव तीन प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेका जानकारी दिनुभयो ।

    बालअधिकारकर्मी घिमिरेका अनुसार सिविसले चार सय बालश्रमिकमा गरेको सर्वेक्षणमा सबैभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएका पाइएको छ ।

    बालश्रम अन्त्यका लागि राज्यले अभिभावकलाई स्वरोजगार बनाउनुका साथै शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले बालश्रमिक रहेका क्षेत्रको अनुगमन गरी वास्तविक तथ्याङ्क सङ्कलन गर्ने, अभिभावकलाई शिक्षाको महत्त्व बुझाउने, तीनै तहका सरकारले सहकार्य र समन्वय गरी बालश्रम हुन नदिने किसिमका अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।