जेठ २९, २०८२ बिहिबार

काठमाडौँ, २९ जेठः राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुभएको छ ।

    राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि  उहाँले नेपाल पर्यटकीय रुपमा सुन्दर राष्ट्र भएकाले यस क्षेत्रमा युवालाई आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

    “प्रदर्शनीमा राखिएका तस्बिरले दिन खोजको भाव अपरम्पार छ, हाम्रो देश पर्यटकीय गन्तव्य हो,” अध्यक्ष थेवेले भन्नुभयो, “देशको तीव्र आर्थिक उन्नति, समृद्ध राष्ट्र बनाउने र आम युवालाई आत्मनिर्भर बनाउने उद्देश्य बोकेर हिँडेका छौँ, त्यसको महत्त्वपूर्ण पाटो पर्यटन पनि हो ।”

    मुलुकको सिङ्गो पर्वतीय पर्यटनको झल्को दिने गरी तस्बीर प्रदर्शनीमा राखिएको उहाँको प्रतिक्रिया छ । “नेपालमा युवा छैनन् भन्ने भाष्य निर्माण गर्नुहुँदैन, नेपालमा असाधारण सम्भावना छ, विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर आफ्नै देश फर्किएर राम्रा उद्यमी बनेका छ्न,” उहाँले थप्नुभयो, “आगामी बजेट पनि युवा र उद्यमीमैत्री भएको छ, युवालाई सरकारले सहुलियत पूर्ण ऋण उपलब्ध गराएर उद्यमी बनाइ नेपालमै राख्ने अभियानमा हामी छौँ ।”