गोरखा, ३० जेठः बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ ।
पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
“परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्था पनि आउँदैन”, उहाँले भन्नुभयो, “आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो ।”
अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । “आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ, उहाँले भन्नुभयो ।
पालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढीका औजार उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो ।