फुङ्लिङ (ताप्लेजुङ), ३० जेठः ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले चिराइतो प्रति मन रु ४० हजारमा बिक्री गर्नुभयो ।
त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्नुहुन्छ । उहाँले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आउनुभएको छ । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० मा तीन हजार दुई सय ८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु ४९ हजार राजस्व सङ¬्कलन गरिएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट रु एक लाख आठ हजार राजश्व सङ्कलन भएको थियो । चालु आवको हालसम्मको तथ्याङ्क अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु ७५ हजार राजस्व सङ्कलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिनुभयो ।
वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार सङ्कलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व सङ्कलन हुँदै आएको छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
चिराइतो एक पटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभइ त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ ।