जेठ ३०, २०८२ शुक्रबार

काठमाडौँ, ३० जेठः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अलवम्बन गरिएको बताउनुभयो ।
 
    कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उहाँको भनाइ थियो । 
 
       “भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ”, उहाँले भन्नुभयो ।
 
        मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।”

    यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गर्नुभयो ।